प्रचण्डको चेतावनी : एमाले जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस् 



काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने त होइन भनेर आशंका व्यक्त गरेका छन् । बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार सञ्चालनबारे प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमै रहेको काँग्रेसप्रति यस्तो आशंका व्यक्त गरेका हुन् । 

‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,’ दाहालले भने,’कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’


अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि कतिपय काँग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने देशैभरिबाट रिपोर्ट आएको बताए ।

‘देशभरबाट कांग्रेसमा पनि एमालेजस्तै दम्भ र अहंकार चुलिएको रिपोर्ट आइरहेको छ,’ उनले भने, ‘वाम गठबन्धन र एकता गरेको एमालेलाई अहंकारकै कारण ठेगान लगायौं। अहिले एमाले चैनमा छैन। एमालेजस्तै कांग्रेसलाई ठेगान लगाउने अवस्था नआओस् म कांग्रेसका साथीहरुलाई भन्न चाहन्छु।’