पण्डित नारायण पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा



काठमाडाैँ । वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा गरिएको छ । नारायण पोखरेल प्रतिष्ठानले स्व पोखरेलको ६८औँ जन्मदिनको अवसरमा आज राष्ट्रिय पुरस्कारको घोषणा गरेको हो ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय सीतापाइलामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक वाचन पण्डित दीनबन्धु पोखरेलले स्व पोखरेलको नाममा रु ५० हजार एक राशिको पुरस्कार घोषणा गरेका हुन् । नेपालको आध्यात्मिक र धार्मिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने उक्त पुरस्कार स्व पोखरेलको स्मृति दिवसको अवसरमा वैशाख २३ गते प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।


कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक पोखरेलले समाजमा रहेको छुवाछूत र जातीय विवेदको अन्त्य गर्न समाज रुपान्तरणमा स्व पोखरेलको महत्वपूर्ण भूमिका रहेको बताए । पोखरेलले भौतिकवाद र आध्यात्मिकवादको संयोजनबाट देशलाई अगाडि बढाउनुपर्ने बताए ।

प्रतिष्ठानका उपाध्यक्ष भवानी देवकोटाले आध्यात्मिक चिन्तनका माध्यमबाट समाज विकासमा स्व पोखरेलले खेलेको भूमिका उल्लेखनीय रहेको बताइन् । प्रतिष्ठानका सचिव डा रामहरि ढकालले समाजमा नाम र कृति छोडेर परलोक हुने थोरै व्यक्तिमध्ये पण्डित पोखरेल एक भएको उल्लेख गरे ।

विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मिएका स्व पोखरेलले देशका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गरेका थिए । धार्मिक क्रियाकलापबाट मानिसलाई सामाजिक विकासमा अभिप्रेरित गर्ने पण्डित पोखरेल नेपालका पहिलो धार्मिक सहिद हुन् । उनको २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उनलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।

पण्डित पोखरेलको स्मृतिमा प्रतिष्ठान स्थापना गरेर काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटमा २० रोपनी क्षेत्रफलमा बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको छ । उक्त धामसहितको केन्द्र निर्माणका लागि रु ४० करोड लाग्ने प्रतिष्ठानका कोषाध्यक्ष बद्री पोखरेलले जानकारी दिए ।