निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्ने आन्दोलनका लागि तयार रहनुस् : प्रचण्ड



पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्ने आन्दोलन ढिलोचाँडो सुरु हुने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार पोखरामा गण्डकी प्रदेशका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताको अभिमूखीकरण कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरुप देश र जनताको हितमा नरहेको बताएका हुन् ।


अहिले माओवादी केन्द्रबाहेक कांग्रेस, एमालेभित्रका नेताले पनि निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएको, भ्रष्टाचार नै त्यहींबाट सुरु हुन्छ भन्ने बहस थालेको उनले बताए । उनले भने,‘हामीलाई नैतिक, राजनीतिक अधिकार छ लडाइँ लड्ने । विकृत पुँजीवादी निर्वाचन प्रणाली बदल्ने र जनताको पक्षमा निर्वाचन प्रणाली बनाउने र शासकीय स्वरुप पनि जनताले फैसला गर्ने बनाउने लडाइँ हामीले ढिलोचाँडो लड्नु छ । दिमागमा राखिराख्नुहोला ।’

माओवादी केन्द्रको नेतृत्वमा यही टिम रहे लडाइँ छिट्टै सुरु हुने र त्यो लडाइँ आफ्नो पार्टीले जित्ने उनको दाबी थियो । उनले आगामी संसदीय निर्वाचनमा माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउने गरी तयारी थालेको बताए । प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अहंकार बढ्न नदिने गरी ठिक्क ठाउँमा राख्न गठबन्धनका दलबीच छलफल भइरहेको उनले बताए ।