नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो



परास । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

सरावल गाउँपालिका-४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन। 


सोमबार जिल्ला अदालत परासीमा अंश मुद्दाको मिलापत्र जानेक्रममा जिल्ला अदालत नजिकै हर्षरामले रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

रोशनी यादव र हंशराज यादवबीच जग्गा विवाद थियो । उनीहरूको विवादबारे छलफल गर्न अदालत बोलाएकोमा हंशराज यादवले गोली चलाएको प्रहरीले जनाएकाे छ । 

गोली प्रहार गर्ने यादव फरार रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी प्रेम बहादुर शाहीले बताए । जिल्ला अदालत अगाडी दिउँसोको समयमा नै गोली प्रहार भएपछि स्थानीय त्रसित भएका छन् ।