नरभक्षी बाघ नियन्त्रणमा



चितवन । पश्चिम चितवनमा हिंस्रक बन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई आज साँझ ६ बजे भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो ।


बाघको आक्रमणबाट स्थानीय २३ वर्षीया रेखा बस्नेतको मृत्यु भएको थियो । सो बाघले आज बिहान निगुरो टिप्न गएकी बस्नेतलाई आक्रमण गरेको थियो । बाघलाई चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको खोरमा राखिने छ । बाघ नियन्त्रणमा लिनका लागि आज दिउँसोदेखि प्रयास थालिएकोमा साँझ ६ बजे डार्ट गरिएको उनले जानकारी दिए ।

यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले तीन वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो ।