थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित 



बैङ्कक, १४ असार (रासस÷सिन्ह्वा) – थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।   स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार उपप्रधानमन्त्रीद्वय अनुतीन चार्नविराकुल र जुरिन लक्सानाभिसित सङ्क्रमित भएका हुन् । 

सङ्क्रमित भएका उपप्रधानमन्त्री अनुतीनले सार्वजनिक स्वास्थ्य मन्त्रालयको जिम्मेबारी समेत सम्हालेका छन् भने जुरिनले व्यापार मन्त्रालयको कार्यभार लिएका छन् ।  उनीहरु दुबै जना विदेश भ्रमणबाट फर्केपछि सङ्क्रमित भएको पुष्टि भएको छ । उनीहरु छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुन वैदेशिक भ्रमणमा गएका थिए ।  अनुतीन जेनेभा गएका थिए भने जुरिन बेलायत गएका थिए ।


अनुतीनलाई मांसपेशी दुखाई समेत भएको जनाइएको छ ।  जुरिनले भने सङ्क्रमित भएपनि घरबाटै काम गरिरहेका छन् । उनलाई खासै स्वास्थ्य समस्या देखिएको छैन ।  दुवै उपप्रधानमन्त्रीलाई कम्तीमा एक हप्ता आइसोलेसनमा बस्न सिफारिस गरिएकाले उनीहरु अहिले आइसोलेसनमै रहेका छन् ।  मङ्गलबार मात्रै थाइल्याण्डमा एक हजार ७६१ जना नयाँ सङ्क्रमित भएको र १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Powered By  Orson Infotech