तनहुँमा माछा मार्ने क्रममा दुईको मृत्यु



तनहुँ । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ ।

आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ ( मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । उनले भने, “दुवै जना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।”


मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्हाल्न कठिनाइ भएको छ । भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।