ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, चार जना विद्यार्थी पक्राउ



काठमाडौँ । काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वीरमुनीका १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थलीका १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग – ६ का १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा – ६ ढलमलका १८ वर्षीय सञ्जिब भण्डारी (अनमोल) रहेका छन् ।


गएराति साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए। घटनाको सूचनापछि प्रहरी बृत्त सिंहदरबार प्रहरी टोली खटिएको थियो। धारिलो हतियार प्रहारबाट बायाँ कानमुनि चोट लागेको गार्डको मोडेल अस्पतालमा उपचारपछि डिस्चार्ज भएको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

कक्षा ११ मा पढ्ने विद्यार्थीबिच करिब १० दिन अगाडी कलेज प्राङ्गणमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर कलेजमा दुई पक्षबीच झै–झगडा हुन लाग्दा कलेजका सुरक्षा गार्डले छुट्याएका थिए। सोही घटनाको रिसाइबी साँध्न गार्डमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।