चितुवा आक्रमण घटना : सुप्रिमको परिवारलाई ५० हजार राहत



तनहुँ । चितुवाको आक्रमणबाट मृत्यु भएका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई बन्दीपुर गाउँपालिकाले रु ५० हजार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधबार मृतकका बुबा प्रेम बगाले मगरलाई सो रकम हस्तान्तरण गरे ।

चितुवाको आक्रमणबाट मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो । उनी घर नजिकैको जङ्गलमा मृता फेला परेका थिए । गत आइतबार पनि सोही वडामा एक बालिका र एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए ।


तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ । डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्यालले चितुवाको आक्रमण बढेपछि सो क्षेत्रका सामुदायिक वनमा पासो थापिएको छ ।

डिभिजन वन कार्यालयले काजक्रियाबापत मृतकका परिवारलाई रु ५० हजार सहयोग गरेको छ । “रु नौ लाख ५० हजार छिट्टै प्रदान गर्छौँ”, प्रमुख अर्यालले भने ।