घूसकाण्डमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइराला ‘निलम्बित’



काठमाडौँ । घुस लेनदेनको अडियो बाहिरिएपछि छानबिनमा तानिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायपरिषद् बैठकले छानबिन समिति बनाएर उनलाई निलम्बित गरेको हो। न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर घुस लेनदेनको अडियो बाहिरिएको थियो ।

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको थियो । सूचना राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बित भएका हुन् । बुधबार बसेको न्याय परिषद् बैठकले परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । छानबिन समितिमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् ।