थाइल्याण्ड गाँजालाई वैधानिक मान्यता दिने एशियको पहिलो देश भएको छ। थाइ सरकारले गाँजाखेती गर्न र त्यसलाई आफ्नो स्वामित्वमा राख्न पाउने कानुनी प्रबन्ध गरे पनि धुमपानका रुपमा गाँजाको सेवनलाई निरुत्साहित गरेको छ।
चिलिममा गाँजा सेवन गर्ने अम्मली पुरानो पुस्ताका निम्ति सरकारी घोषणा सपना झै भएको छ। बिहीबारदेखि गाँजा खेतीले वैधानिक मान्यता पाएपछि गाँजाको धुवाँमा रमाउने बुढो पुस्ताले विविधतायुक्त थाई ‘स्टिक’लाई सम्झेका छन्।
देशका जनस्वास्थ्य मन्त्रीको दश लाख गाँजाका विरुवा वितरण गर्ने योजनाले शुक्रबारदेखि थाइल्यान्डलाई झारपातको अद्भूत भूमिमा परिणत भएको ठानिएको छ। खाद्य तथा औषधि प्रशासन विभागले सबै विरुवालाई लागूऔषधको श्रेणीबाट हटाउन गरेको निर्णयले थाइल्यान्डलाई चिकित्सा र औद्योगिक प्रयोगको लागि गाँजालाई वैधानिक बनाउने एसियाको पहिलो राष्ट्र बनाएको छ तर उसले उरुग्वे र क्यानडाको पदचाप पछ्याएको छैन।
उरुग्वे र क्यानडा त्यस्ता देश हुन् जसले मनोरञ्जनका रूपमा गाँजा सेवलाई राष्ट्रिय वैधानिकता दिएका छन्। गाँजामाथिको प्रतिबन्ध हटेपछि अब थाई नागरिकले निर्वाध गाँजाखती गर्न र त्यसको सेवन गर्न सक्छन्। उनीहरूलाई प्रहरी प्रशासनले कारबाही गर्नेछैन। तर त्यसो गर्नुअघि उनीहरूले दर्ता गर्नुपर्नेछ र गाँजाखेती औषधीय उद्देश्यका निम्ति भएको घोषणा गर्नुपर्नेछ। केही थाई कानुन व्यवसायीहरूले बिहीबार एउटा क्याफेमा गाँजा किनेर उत्सव मनाए।
बुधबारसम्म उनीहरूका निम्ति त्यो वर्जित थियो। खुलेआम खरिद–बिक्रीको कल्पना पनि गर्न सकिन्नथ्यो। दर्जनौंको संख्यामा ब्याङकको हाइल्याण्ड क्याफेमा एकत्रित भएका उनीहरू उखु, बबलगम, पर्पल अफगानी र युएफओ नामका विभिन्न प्रकारका कोपिलाबाट बनेका ‘माल’ चयन गर्न पाएर दङदास थिए।
‘म चिच्च्याएर भन्न सक्छु, म एक गँजेडी हुँ। गाँजालाई अवैध लागूऔषधको रूपमा चर्चा गरिँदा मैले त्यसलाई विगतमा गोप्य राख्नु परेको थियो,’ हाइल्याण्ड क्याफेका पहिलो २४ वर्षीय ग्राहक रित्तिपोङ बाचकुलले लुकीलुकी गाँजा सेवन गरेको सुनाउँदै भने।
‘जहाँसम्म सरकारको सवाल छ, चिकित्सा प्रयोगलाई बढावा दिनु उनीहरूको काम हो। अनि यो एकदम स्पष्ट छ कि हामी धेरै टाढा आएर अन्ततः यसको प्रयोगलाई वैधानिकता दिएका छौँ।’ सरकारले गाँजाका फाइदा र बेफाइदा राम्ररी बुझेको बताउँदै क्याफेका सहसञ्चालक एवम् लामो समयदेखि गाँजालाई वैधानिक बनाउने अभियानका कार्यकर्ता रत्तापोन सानराक भन्छन्।
थाइल्याण्ड विविधतायुक्त गाँजा पाइने देशका रूपमा परिचित छ। ‘थाई स्टिक’ले चिनिने कडा गाँजाका फूलहरू सुकाइन्छ र लट्ठीहरूमा बाँधिन्छ। हाल विदेशमा हुर्किरहेका धेरै प्रजातिहरूको उत्पत्तिस्थल थाइल्याण्ड हो। गाँजाको धुँवामा लट्ठिएर मस्तराम हुने चाहनेहरूलाई भने थाइल्याण्डको सरकारले चेतावनी दिएको छ।
सार्वजनिकरूपमा गाँजा सेवनलाई अझै पनि अपराध मानिएको छ। कानुन उल्लङ्घन गरेमा तीन महिना कारबासको सजायसहित २५ हजार भाट जरिवाना तिर्नुपर्नेछ। गाँजाबाट तेल निकाल्न मनाही गरिएको छ भने ०.२ प्रतिशतभन्दा बढी टेट्राहाइड्रोक्यानाबायोनिलको मात्रा भएमा त्यो दण्डनीय हुनेछ।
चियाङ माई विश्वविद्यालयका विरुवा र माटो विज्ञान विभागका प्राध्यापक सरना सोम्मनो गाँजासम्बन्धी नयाँ कानून पारित भएपछि र नियमहरू स्पष्ट नभएसम्म पर्यटकहरूले सावधानीपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिन्छिन्।
‘यहाँ अझै जोखिमहरू छन्, गाँजालाई अब लागूऔषध मानिदैन तर यसको प्रयोगलाई नियन्त्रित गर्ने कुनै मन्त्रालयले नियम निकालेको छैन। यसको प्रयोगको सीमाबारे केही उल्लेख गरिएको छैन,’ नयाँ प्रावधानबारे स्पष्ट योजना र तिनको व्याख्या नगरी मतदातालाई खुसी पार्न आफ्नो नीति हतारमा परिवर्तन गरिएको टिप्पणी गर्दै उनले भनिन्।
विशेषगरी थाइल्याण्डले औषधीय उपयोगका निम्ति गाँजालाई बजारमा ल्याउन चाहेको छ। आफूसँग पहिलेदेखि नै राम्रोसँग विकसित ‘मेडिकल’ पर्यटन उद्योग छ भने देशको माटो र जलवायु गाँजाखेतीका निम्ति पनि उत्तिकै उपयुक्त छ।
‘हामीले गाँजाको प्रयोगबारे जान्नैपर्छ, गाँजा सुन जस्तै मूल्यवान वस्तु हो, यसको प्रचार गर्नुपर्छ,’ गाँजाको प्रवर्द्धनमा लागेका जनस्वास्थ्य मन्त्री अनुटिन चार्नविराकुलले आफूहरूमा सही चेतना हुनुपर्नेमा जोड दिँदै भनेका छन्।
थाई सरकारले गरेको नीतिगत नयाँ निर्णयबाट पुरोना कानुनअन्तर्गत लागूऔषध मुद्दामा पक्राउ परेकाहरू तत्काल लाभान्वित हुनेछन्। अन्तर्राष्ट्रिय औषधि नीति कन्सोर्टियमका एशिया क्षेत्रीय निर्देशक ग्लोरिया लाइले गाँजासम्बन्धी नयाँ कानुनले सकारात्मक परिणाम ल्याएको बताउँदै अब पुरानो कानुनअन्तर्गत अपराधी ठहरिएका चार हजार जनालाई काराकारमुक्त गरिने जनाएकी छन्।
गाँजासम्बन्धी अपराधको आरोप लागेकाहरूबाट जफत गरिएको पैसा र गाँजा तिनीहरूका मालिकहरूलाई फिर्ता गरिने मानव अधिकार, स्वास्थ्य र विकासलाई समावेश तथा औषधि नीतिहरूको वकालत गर्ने विश्वव्यापी नागरिक समूहहरूको सञ्जालकी क्षेत्रीय निर्देशक उनले बताइन्।
गाँजा र गाँजाखेतीसम्बन्धी नयाँ व्यवस्थाले थाइल्याण्डको आर्थिक विकाससँगै राष्ट्रिय आम्दानीदेखि साना किसानहरूको जीविकोपार्जनमा बढाउने अनुमान गरिएको छ तर त्यसबाट प्राप्त हुने लाभ समान रूपमा बाँडफाँट हुन्छ कि हुँदैन भन्ने चिन्ता पनि थपिएको छ।
ठूला कम्पनीहरूले उत्पादनको अनुमति प्रमाणपत्रलगायत प्रक्रियागत कामका साथै व्यावसायिक प्रयोगका लागि चर्को शुल्क समावेश गर्ने प्रस्तावित नियमहरूबाट अनुचित रूपमा फाइदा लिन सक्ने चिन्ता पनि बढाएको छ जसले साना उत्पादकहरूलाई नराम्ररी पिरोल्न सक्नेछ।
विपक्षी मूभ फर्वार्ड पार्टीका सांसद ताओपिपप लिम्जित्रकोर्नले केही प्रस्तावित नियमअन्तर्गत, गाँजा–सम्बन्धित उद्योगलाई केही ठूला कम्पनीहरूले नियन्त्रण गर्न सक्ने बताए। मादक पेय पदार्थ उत्पादक कम्पनीहरूले सानालाई दबाएको सन्दर्भ सुनाउँदै आफ्नो पार्टीले आउनसक्ने समस्या समाधानका लागि कानुन बनाउन चाहेको बताए।
साना उद्यमी–व्यवसायी गाँजा व्यवसाय गर्न उत्सुक छन्। पूर्वी थाइल्याण्डको श्रीराचा जिल्लास्थित गोल्डेनलिफ हेम्प फार्मका मालिक इतिसुग हान्जिचन हालैको आइतबारको अति गर्मी दिनमा ४० जना उद्यमी, किसान र सेवानिवृत्तहरूलाई गाँजाखेतीसम्बन्धी आफ्नो पाँचौं चरणको प्रशिक्षणमा व्यस्त थिए।
गाँजाखेती गर्न उत्सुक उनीहरूले खेतीका निम्ति आवश्यक ज्ञान हासिल गरी गुणस्तरीय उपज प्राप्तिका निमित जनही एकसय ५० अमेरिकी डलर शुल्क तिरेका थिए। प्रशिक्षणमा सहभागीमध्येका एक चनाडेच सोनबून पनि थिए जसले गोप्य रूपमा गाँजाको विरुवा उब्जाउन खोज्दा आफ्ना आमाबाबुबाट गाली खानुपरेको थियो।
अठार वर्षीय उनका बाबुआमाको मन अहिले परिवर्तन भएको छ। उनीहरूले गाँजा रोप्ने छोरालाई दुव्र्यवहार गर्नुको सट्टा त्यसलाई औषधीको रूपमा लिएका छन्। चनाडेच परिवारले एउटा सानो होमस्टे र क्याफे चलाउँछ र एक दिन आफ्ना पाहुनाहरूलाई गाँजा पनि उपलब्ध गराउने आशा गरेको छ।