गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा सहभागी हुने खेलाडीको बीमा गर्ने



कास्की । गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ ।

प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट कार्यक्रममा खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको बताए । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने खेलाडीको स्वास्थ्य बीमाको व्यवस्था भए पनि कतिपय राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने खेलाडी यसबाट बञ्चित हुँदै आएका थिए ।


यसैगरी आगामी बजेटमा राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताका लागि प्रोत्साहनस्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको मन्त्री बरालले बताए । सरकारले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार विकासका लागि रु १५ करोड बजेट विनियोजन गरेको छ । प्रदेशभित्रका खेलमैदान निर्माण, मर्मत तथा स्तरोन्नति र ‘एक स्थानीय तह, एक खेलमैदान’ निर्माणलाई निरन्तरता दिँदै खेल पूर्वाधारका लागि सो बजेट छुट्याइएको हो ।

प्रदेश सरकारले सङ्घीय सरकारसँगको सहकार्यमा २०७५ सालदेखि नै हरेक पालिकामा स्थानीयस्तरको खेलग्राम निर्माणलाई अघि बढाएको हो । यसैगरी बजेटमा खेलकुद पूर्वाधार निर्माणमा जोड दिइ पोखरा रङ्गशाला, विभिन्न कभर्डहल र पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी बजेट विनियोजन गरिएको छ ।

सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रभावकारी सहभागिताका लागि आवश्यक बजेट व्यवस्था गरेको छ । गण्डकी प्रदेशमा गत जेठ अन्तिम साता प्रतियोगिता गर्न मिति तय गरिए पनि स्थानीय तह निर्वाचनका कारण रोकिएको छ । सरकारले यसै वर्ष राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ ।