काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित



काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले सो नीति तथा कार्यक्रम पारित गरेको हो। बैठकमा नगर सदस्य तथा जनप्रतिनिधिले नीति तथा कार्यक्रमप्रति आवश्यक सल्लाह, सुझाव राखेका थिए।


महानगरप्रमुख बालेन्द्र साहले सबैको सल्लाहलाई समावेश गरिने प्रतिबद्धता व्यक्त गर्दै नीति तथा कार्यक्रममा पारित भएको घोषणा गरे।  महानगरका विविध समस्या व्यवस्थापन गर्नुपर्ने भन्दै शाहले घरबहाल कर प्राइभेट कम्पनीमार्फत् नभई महानगर अन्तर्गतको विभाग वा निकायमार्फत् हुने प्रष्ट पनि पारे। 

“करबाट कोही नभागोस् र त्यो वैज्ञानिक रुपमा होस् भनेर सो भनिएको हो। संशोधन, थपिनुपर्ने र सबैलाई मान्य हुने कुरा मलाई पनि मान्य हुने छन्, मान्न नसकिने वा मान्न नहुने कुरा केही पनि आएका छैनन् भन्ने बुझाइ छ”, उनले भने।

यसैगरी, उपप्रमुख सुनिता डंगोलले संशोधनसहितको नीति तथा कार्यक्रम पनि छिट्टै उपलब्ध गराइने बताइन्। कार्यक्रम प्रस्तुत हुँदा साथ, सहयोग भएजस्तो कार्यान्वयनको पक्षमासमेत सहयोग गर्न डंगोलले आग्रह गरिन्।

“बजेटभन्दा पनि कानुनले लिएका कुरा नछुट्ने गरी संशोधन गर्नेछौं। छुटाइरहेका तर, अत्यावश्यक कुराहरु समावेश गर्नेछौं”, उपप्रमुख डंगोलले भनिन्।

महानगरको आगामी आर्थिक वर्षको  नीति तथा कार्यक्रम असार ५ गते प्रस्तुत भएको थियो। अर्को बैठक असार १० गते दिउँसो साढे २ बजे बस्ने महानगरले जनाएको छ।