कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस् : प्रधानमन्त्री देउवा



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काँग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । आइतबार नेपाल ट्रेड  युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन काँग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताएका हुन् ।

उनले भने, ‘एउटा कुरा के बुझ्नु पर्यो भने तपाईंहरुले यो काँग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईँहरुले यो धेरै क्लेम गर्ने कुरा छैन । अरु कतिपय तपाईँहरुले अतिमहत्वपूर्ण कुराहरु उठाउनु भएको छ । कतिपय बजेटमा आएका छन् । छैनन भने पनि हामीहरु त्यसलाई पूरा गर्नेछौं ।’


उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानुनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको बताए ।

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए ।