एसपीपी अघि बढाउने काम केपी ओलीबाट भएको होः वामदेव गौतम



काठमाडौँ । राष्ट्रियसभाका सांसद वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन् । गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री थिए ।


यसको सुरुवात जसले गरेपनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउने काममा संलग्न भएको उल्लेख गर्दै उनले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे । उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्यकुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने उल्लेख गरे ।

सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको काँग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धि समस्या समाधान भएको बताए । उनले सो प्रस्तावबारे संसदमा आएर जवाफ दिन भने प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

उनले भने, ‘अहिले एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नु भयो यो सम्झौता भनेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिन । त्यो सरकारमा सामेल भइसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीले व्यक्त गरेको विचारसित सहमत हुनुपर्दछ । त्यसो भएर ममाथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अब केके भएको हो, अस्तीमात्रै एउटा पत्र आएको छ । र, त्यो पत्रले प्रष्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ । अब सदनलाई साँचो कुरा बताउनु पर्दछ–र सत्य बताउँदा कोही पनि सानो हुँदैन ।’

गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पुर्याएको बताए ।