एसपीपीबारे ओलीले भने – ’सुशील कोइरालाले निर्णय गर्नुभएछ’



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम(एसपीपी) आफ्नो पालामा शुरू नभएको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा स्थानीय तहका पार्टीका जनप्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पालामा एसपीपी प्रोगाम ल्याएको भनेर भ्रम सिर्जना गरिएको दाबी गरेका हुन् । उनले एसपीपी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा ल्याइएको बताए । उनले भने,‘२०७२ असोज ६ गते संविधान जारी भएको तीन दिनपछि रक्षामन्त्रीको हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले निर्णय गर्नुभएछ । एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर ।’


उनले कोइरालाले रक्षामन्त्रीको हैसियतमा गरेको निर्णयअनुसार सेनाले पत्राचार गरेको दाबी गरे । उनले भने‘मन्त्रीस्तरको निर्णय असोज १३ गते सैनिक मुख्यालयलाई पठाएको रहेछ । सैनिक मुख्यालयले सोहीअनुसार पत्राचार गरेको रहेछ । हामीलाई कतै बताइएन ।’

आफू २०७२ असोज २४ मा निर्वाचित भएर २५ मा शपथ ग्रहण गरेको बताउँदै ओलीले तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले असोज १० गते नै अमेरिकी राजदूतावासलाई पत्र लेखेको बताए।

उनले भने, ’उनले मन्त्रीस्तरले निर्णय गरेको हुँदा अघि बढाइ पाउँ भनेर पत्र लेखेका रहेछन्। दूतावासलाई सेनाले त्यसरी पत्र लेख्दैनन् । तर सेनापति आफैंले लेखेको रहेछ।’

अध्यक्ष ओलीले सेनापति क्षेत्रीले लेखेको हाल सार्वजनिक पत्रबारे आफूलाई जानकारी नभएको भन्दै गुपचुप राखिएको आरोप लगाए । अध्यक्ष ओलीले रक्षामन्त्री ईश्वर पोखरेल तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भएको समयमा परराष्ट्र सचिवको नेतृत्वमा यसबारे छानबिन समिति बनाएको बताए।

उनले भने, ’यो उपयुक्त थिएन। हुँदैन र यो हाम्रो सोच भन्दा बाहिरको कुरा हो। हाम्रो तटस्थ नीतिभित्र कुनै सेनाको एलायन्समा जाने कुरा पर्दैन भनेर निर्णय नै गर्यौं । त्यो च्याप्टर क्लोज भयो।’