एमालेको प्रश्न- प्रधानमन्त्री कि रक्षामन्त्री‚ कुन हैसियतमा हुँदैछ देउवाको अमेरिका भ्रमण ?



काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेको छ ।

आज प्रतिनिधि सभा बैठकमा समय मागेर बोलेका एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।


प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे सदनलाई जानकारी नदिएको तथा भ्रमणको व्यवस्थापनमा दुवै देशका परराष्ट्र सम्बन्धसँग सम्बन्धित निकाय सक्रिय नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएकोप्रति पनि ज्ञवालीले आशंका व्यक्त गरेका छन् ।

‘यो भ्रमणको चाँजोपाँजोमा न अमेरिकाको स्टेट डिपर्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय । भ्रमणको चाँजोपाँजो मिलाइरहेको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले हो; सेना त्यसमा जोडिएको छ,’ उनले भने, ‘यसले गम्भीर प्रश्न उठेको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ या रक्षामन्त्रीको हैसियतले ? रक्षामन्त्रीको हैसियतले हुँदैछ भने त्यसको विषयमा पनि सदनले थाहा पाउन जरुरी छ ।’