एमालेको अवरोधपछि बुधबारसम्मका लागि संसद स्थगित



काठमाडौँ । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नसक्ने बताए । भट्टराईले यो विषय सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेपछि अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पनि बताए । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गर्नु राष्ट्रघात र ठूलो वित्तीय अपराध भएको पनि भट्टराईले बताए ।
उनले भने, ‘त्यो खालको व्यक्तिहरु प्रवेश गराएर करको दर हेरफेर गराउने, यो भन्दा ठूलो राष्ट्रघात अर्को हुन सक्दैन । यो भन्दा ठूलो वित्तीय अपराध अरु हुन सक्दैन।’


बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सबै प्रक्रिया आधिकारिक रुपमा भएको प्रष्टीकरण दिएका थिए। उनले बजेट तर्जुमा सम्बन्धी विषय तोकिएको जिम्मेवारी भित्र रहेर बनाइएको बताए । ‘बजेट तथा आर्थिक विधेयक तर्जुमा प्रक्रिया अन्तर्गत नै रहेर बनाइएको हो,’ उनले भने ।

यसमा अर्थसचिव र राजस्व सचिवले नेतृत्व गरेको भन्दै उनले मातहतमा अन्य विभागीय प्रमुख कर्मचारीको तहमा विभिन्न स्तरमा छलफल भएर, सरोकारवालाबाट आएका सुझाव समेतलाई ध्यान दिएर बजेट बनाइएको बताएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले भने प्रमुख प्रतिपक्षले उठाएका विषयअनुसार नै आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएपछि संसद् चल्न दिनुपर्ने बताए ।

स्पष्टीकरण दिन पाउने मन्त्रीको अधिकार भएको भन्दै उनले एमाले सांसदहरूलाई बस्न आग्रह गरेका थिए ।  तर एमालेका सांसद्हरुले अस्वीकार गरिरहे। त्यसपछि बैठक स्थगित भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक असार १ गते बिहान ११ बजेका लाग बोलाइएको छ ।