उठ्न थाल्यो उपत्यकाको फोहोर



काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौँबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिए ।

फोहोर विसर्जन गर्न दिने सहमति भए पनि स्थानीयवासीले फोहोर ढुवानी कार्यमा अवरोध कायम राखेका छन् । सुरक्षाकर्मी लगाएर फोहोरको ढुवानी र विसर्जन गर्नुपरेको ल्यान्डफिल साइट इन्चार्ज श्रेष्ठले बताए । फोहोर लिएर काठमाडौँबाट गएका सवारीलाई धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीयवासीले ल्यान्डफिल साइट जाने सडकमा नै रोकेपछि सुरक्षाकर्मी परिचालन गरेर हटाएको थियो । बन्चरेडाँडा ल्यान्डफिल साइट धादिङ र नुवाकोट जिल्लाको सिमानामा अवस्थित छ ।


स्थानीय समुदायले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र सामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य रोकेका थिए । ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयवासीको मागलाई सम्बोधन हुनुपर्ने बताए । जग्गा अधिग्रहण तथा अस्पताल निर्माण कहिलेदेखि सुरु गरी कहिलेसम्म सम्पन्न गर्नेजस्ता विषय किटान गरेर नै सहमति हुनुपर्ने स्थानीयको माग रहेको उनले स्पष्ट पारे ।

सोमबारको सहमतिमा जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी गरिने, सोही प्रतिवेदनका आधारमा स्थानीयका लागि दस शय्याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरिने, सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गरिने विषय उल्लेख गरिएको छ ।

त्यसैगरी काठमाडौँ महानगरले एक हप्ताभित्र धुनीबेँसी नगरको वडा १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयवासीको स्वास्थ्य बीमा गर्ने, पूर्वाधार विकास अनुदानलाई निरन्तरता दिइनेलगायतका विषयमा सहमति भएको थियो । त्यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रतिवेदनका आधारमा ल्यान्डफिल साइटको दुर्गन्ध हटाउन दस दिनभित्रमा रासायनिक वा जैविक उपचार विधि अवलम्बन गरिने सहमति भएको थियो ।

यसैबीच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) वैज्ञानिकसहितको टोली सिसडोलको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्न मङ्गलबार नुवाकोटको सिसडोल ल्यान्डफिल साइटको अवलोकन गरेको छ ।

टोलीले सिसडोलबाट निस्किएको लेदो पानी, पानीको स्रोत र ग्यासको परीक्षणका लागि नमुना सङ्कलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गरी सोको प्रतिवेदन सरकारलाई बुझाउने छन् । समाचार गाेरखापत्र दैनिकमा छ ।