आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ । सोमबार सुनुवाइ नसकिएपछि आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा परेको हो ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सोमबार सुरुमा डीआईजीबाट तीन जनालाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा बहस भएको थियो । तर बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।


उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो । दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो।बढुवाविरुद्ध सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिएका थिए ।

उक्त रिटमाथि सुनुवाइ गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरुले बहसका लागि थप समय माग गरेपछि हेर्दाहेर्दैमा राखेर असार ५ गतेका लागि सुनुवाइको मिति तोकिएको हो । अब असार ५ गते पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।