आईजीपी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ सुरु



काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा सुरु भएको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो ।

गत वैशाख १८ गते मन्त्रिपरिषद् बैठकले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजीपी)मा बढुवा गरेकोविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश गरेका थिए ।


जेठ १७ गते एआईजी बढुवाविरुद्ध पूर्व डीआईजी ईश्वरबाबु कार्कीसमेतले दायर गरेको रिट लगाउमा राखेर न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको बेन्चमा पेशी तोकिएको थियो । न्यायाधीशद्वय श्रेष्ठ र डा. चुडालको संयुक्त इजलासले उक्त रिट निवेदनमा पुनः सात दिनको समय दिएर म्याद तामेल गर्ने आदेश दिएको हो ।

न्यायाधीशद्वय श्रेष्ठ र चुडालले वसन्तकुमार पन्त कैलालीमा रहेको र अन्य प्रत्यर्थीहरु प्रहरीको उच्च पदमा रहेका कारण प्रहरी प्रधान कार्यालयको सहयोग लिएर म्याद तामेल गर्न आदेश दिएका थिए । आदेश भएको मितिले ६ दिनभित्र प्रत्यक्ष भेटेर वा फ्याक्स वा इमेलमार्फत म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले आदेश दिएको थियो ।