आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता



काठमाडौँ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । यो निर्णय असार १ गतेदेखि लागू हुनेछ ।

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।