अर्बौंको चलखेलमा आयल निगम व्यापारीलाई दिइँदैछ भन्ने सुनिएको छ : पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन् ।

६४ औं संसद दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारमाथि आयल निगम व्यापारीको हातमा दिन लागेको आरोप लगाएका छन् ।


उनले निगम व्यापारीको हातमा दिएर अर्बौं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति जनाए । पौडेलले यो विषयलाई सञ्चारमाध्यामले अघि ल्याउनुपर्ने बताए ।

उनले भने, ‘कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन् । जहिले पनि मलको हाहाकार किन भयो ? हामीले यो कुरा बुझेनौं–काँग्रेसभन्दा बढी एमाले समाजवादी । एमाले भन्दा माओवादी बढी समाजवादी । दुई तिहाई ल्याएको सरकारले केही पनि करेक्सन गर्न सक्यो ? त्यत्रो बहुमतको सरकार हुँदा त करेक्सन हुनु पर्दथ्यो नि । तर भएन । अहिले पनि हाहाकार छ देशमा । यत्रो हाहाकार किन भइरहेको छ देशमा भन्दा व्यापारिको हातमा तपाईले दिनुहुन्छ । व्यापारीले त नाफा हेर्छ । जतिखेर नाफा हुन्छ, त्यतिखेर मल ल्याउँछ । अहिले म फेरि सुन्दैछु । आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे । यो चलखेलको पछाडि करोड होइन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भइहाल्यो नि । यसैमा पनि खेलबाड ।’

उनले समाजवादको ठूलठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको बताए ।