अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक : एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई स्पष्ट पत्र पठाउन सरकारलाई निर्देशन



काठमाडाैँ । संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रुपमा रहेको तथ्य खुलेकाले उक्त कार्यक्रममा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक ढंगले अमेरिकालाई पत्र पठाउन निर्देशन दिएको छ । शुक्रबार सरोकारवालासँगको छलफलपछि समितिले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । 

‘नेपालको संविकानद्वारा निर्दिष्ट संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्त अनुरुप स्वतन्त्र परराष्ट्र नीति प्रतिकूल नहुनेगरी नेपाल सरकारले परराष्ट्र नीतिको सञ्चालन गर्नुपर्छ । यस सन्दर्भमा हालै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नता सम्बन्धमा सार्वजनिक भएका कुराहरू एवं विवादास्पद विषयमा नेपाल सरकारको औपचारिक धारणा निर्णयको रूपमा आउनुपर्छ,’ समितिले निर्देशन दिने क्रममा भनेको छ, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रूपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले उक्त कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने् कुरा स्पष्ट रूपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने ।’ समितिको निर्णयमा उल्लेख छ ।


समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको हुने भनिएको अमेरिका भ्रमणमा विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सम्झौता नगर्न पनि निर्देशन दिएको छ । त्यस्तै, एसपीपीका सम्बन्धमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र सेनाले अमेरिकालाई पठाएका पत्राचार सात दिनभित्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।