काठमाडौँ । काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रङ्गशाला निर्माण गर्ने चाहना रहेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै प्रमुख साहले यस्तो बताएका हुन् ।
‘‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित व्यवस्थापन गरेर हामी सुन्दर रङ्गशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ । काठमाडौंको टूँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राति खेल्न मिल्ने बनाउँछौँ ।,’’ प्रमुख साहले भने ।
कुराकानीका क्रममा उनले काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको बताए ।
‘‘यसका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्छौं ।,’’ प्रमुख साहले भने, ‘‘अहिले पनि काठमाडौं महानगरले महानगरमा भएका ‘ए डिभिजन’, ‘वि डिभिजन’ र ‘सी डिभिजन’ फुटबल क्लबहरुलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौँ ।’’