शनिबार नेपाल स्टार्टअफ फेस्ट आयोजना हुने



काठमाडाैँ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले यही असार ११ ते शनिबार नेपाल स्टार्टअफ फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।

राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा स्टार्टअफ फेस्ट आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा स्थापित गराउन नवप्रवर्तनकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।


स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि मञ्चले रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको जनाएको छ । व्यवसायका स्वरूप परिवर्तन भइरहेको र नयाँ क्षेत्रमा काम गर्ने सम्भावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने अभियानको लक्ष्य रहेको छ । स्टार्टअपले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् ।

देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको र तीमध्ये नेपाल उद्योग परिसङ्घ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ । पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसङ्घ स्टार्टअप अभियान समिति आयुसी केसीले बताइन् । यो कार्यक्रबाट स्टार्टअपलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ ।

युवा उद्यमीलाई प्रोत्साहन गर्न परिसङ्घले युवा उद्यमी मञ्चमार्फत युवालाई थप प्रोत्साहन गर्न स्टार्टअप आयोजना गर्न लागेको परिसङ्घका उपाध्यक्ष रोहित गुप्ताले बताए । यो कार्यक्रममार्फत करिब रु ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने जनाइएको छ ।