विद्रोह गरेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आह्वान



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।

शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गरेका हुन् । गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उनले आग्रह गरे ।


उनले बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताए । महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गरे । उनले माओवादी जनतालाई अलमल र भूमरीमा नफसाई परिवर्तनतिर लैजाने गरी आएमा आफूहरु एकताका लागि तयार रहेको बताए ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ । महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ ।