युद्धले क्षतविक्षत सुडानमा आदिवासी हिंसा, पछिल्लो द्वन्द्वमा एकसय ४५ जना मारिए



वर्षौँको युद्धले क्षतविक्षत पूर्वी अफ्रिकी राष्ट्र सुडानमा पछिल्लो समयमा भएका आदिवासी हिंसामा एकसय ४५ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । मानवीय मामिला समन्वयसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए)ले यो महिना भएका झडपमा कम्तिमा एक सय ४५ जनाको मृत्यु भएको र एकसय ८० जना घाइते भएका जनाएको हो ।

हालैका वर्षमा सबैभन्दा घातक हिंसा पश्चिमी डार्फर र दक्षिण कोर्डोफान प्रान्तमा बढिरहेका छन् । निरङ्कुश शासक ओमार अल–बसिरलाई सन् २०१९ मा सेनाले पदच्युत गरेपछि देशमा लोकतान्त्रिक शासनको बहाली हुने अपेक्षा गरिएको थियो तर त्यो अपेक्षामात्र रह्यो ।


गत साता पश्चिम डार्फरको कुलबस शहरमा अरब र अफ्रिकी जनजातिबीच जग्गा विवादलाई लिएर हिंसात्मक मुठभेड भए । स्थानीय अरब लडाकाले धेरै गाउँमा घातक आक्रमण गरे । हप्ताभरि भएको दोहोरो झडपमा गिमिर जनजातिका १०१ र अरब रिजेगट जनजातिका २५ जनासहित कुल १२६ जना मारिए ।

त्यस क्रममा एकसय ३० जनाभन्दा बढी गैर–अरब जनजाति घाइते भए । ओसीएचएले कुलबुस क्षेत्रका कम्तीमा २५ गाउँमा आक्रमण, लुटपाट र आगजनीका घटना भएका तथा पश्चिम डार्फर र छिमेकी उत्तर दारफुर प्रान्तमा झडप फैलिदा कम्तिमा ५०,००० सर्वसाधारण आफ्नो घर छोडेर भाग्न बाध्य भएका बताएको छ ।

यो महिनाको शुरुमा दक्षिण कोर्डोफानमा छुट्टाछुट्टै भएका जनजाति झडपमा कम्तिमा १९ जनाको मृत्यु भएको र अन्य ५४ जना घाइते भएका थिए । अबु जुबाह शहरमा तीन दिनसम्म चलेको हिंसामा तीनपाङ्ग्रे सवारी साधनको लुटपाट बढेको, शहरका छ वटा क्षेत्र जलाइएपछि १५ हजारभन्दा बढी विस्थापित भएका जनाउँदै ओसीएचएले उक्त क्षेत्रमा सेना तैनाथ गर्नुपरेको बताएको छ ।

सैनिक परिचालन र निषेधाज्ञा जारी हुँदासमेत स्थिति तनावपूर्ण रहेको छ । गत हप्ताको युद्ध दुई दशकको द्वन्द्वले ध्वस्त पारेको पश्चिमी सुडानको विशाल क्षेत्र डार्फरमा आदिवासी हिंसाको पछिल्लो मुठभेड हो । पछिल्लो हिंसाले यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घको संयुक्त शान्ति सेना परिचालन नगर्ने निर्णयमाथि प्रश्न उठाएको छ ।

जातीय अफ्रिकीहरूमाथि सरकारले भेदभाव गरेको आरोप लगाउँदै राजधानी खार्तुमबाट सन् २००३ मा सुरु भएको डार्फर द्वन्द्वले उग्ररूप लिएपछि सैन्य विद्रोहबाट अल बसिरलाई सन् २०१९ मा सत्ताच्युत गरियो । खार्तुमको जेलमा रहेका उनलाई एक दशकअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतले डार्फरमा भएको नरसंहार र मानवताविरुद्धको अपराधको अभियोग लगाएको थियो ।