बाँकेमा रगत अभाव ट-यो



बाँके । बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ । जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।

“हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको र अहिले अभाव पनि टरेको छ”, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने । उनका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ ।


रेडक्रसको नेपालगञ्ज र कोहलपुरस्थित रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ । अस्पतालहरूमा बिरामीको चाप कम भएका कारण रगतको माग पनि घटेको अधिकृत श्रेष्ठले बताए ।

यसैगरी रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यले स्वयंसेवकको सङ्ख्या अझ वृद्धि गर्न जिल्ला रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थासमेत अन्त्य भएको जनाइएको छ ।

स्वयंसेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत सङ्घ, सङ्गठनले समय–समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पु¥याए पनि रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम भएकाले उनीहरूको सहभागिता बढाउने प्रयास पनि केन्द्रले थालनी गरेको छ ।

जिल्ला रेडक्रसका अध्यक्ष गोवर्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा सङ्कलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलाहरूमा प्रयोग हुने गरेको छ ।