प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रकृयासंगत ढंगले अघि बढाउन माग गरेका हुन् ।


समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।

‘महाभियोग प्रस्तावबारे छलफल चल्दा हाम्रो पार्टीका माननीयहरूले प्रस्ताव अघि बढ्नुपर्‍यो, गिजोलेर राख्नुभएन भनेर धारणा राख्नुभएको हो’, एमाले प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईले भने, ‘महाभियोग गिजोल्न मात्रै ल्याएको हो कि टुङ्गो लगाउन ल्याइएको हो भन्ने प्रश्न गर्नुभयो ।’ प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा ल्याएर छिटो टुंगोमा पुर्‍याउनुपर्ने माग गरेको बताए ।

 प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन १ गते सत्तारुढ कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए ।

प्रधानन्यायाधीशविरुद्ध महाभियोग आएपछि प्रतिनिधिसभाले फागुन तेस्रो साता महाभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन् । त्यस्तै, कांग्रेसका मीनबहादुर विक र रामबहादुर विष्ट, माओवादी केन्द्रका यशोदा सुवेदी र रेखा शर्मा सदस्य छन् ।