पश्चिम सेती आयोजना अघि बढाइने



काठमाडौँ । लगानी बोर्डले दुई जलविद्युत आयोजनाको करिब २६ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । बोर्डले राहुघाट र तामाकोशी पाँचौ बनाउन करिब २५ अर्ब ९२ करोड रुपैयाँको लगानी स्वीकृति गरेको हो ।

प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको ५१ औं बैठकले ति दुई जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न उक्त रकमको लगानीलाई स्वीकृति दिएको हो ।


बोर्ड बैठकले दोलखामा ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौ जलविद्युत आयोजना बनाउन १६ अर्ब ४५ करोड ९८ लाख र म्याग्दीमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना बनाउन ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँको लगानी स्वीकृति गरेको हो ।

बोर्ड बैठकले पश्चिम सेती र सेती नदी –६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न गठन भएको अध्ययन समितिले पेश गरेको सिफारिस सहितको प्रतिवेदन आवश्यकता अनुसार कार्यान्वयन गर्दै जाने निर्णय गरेको छ । यो प्रतिवेदन भारतको एनएचपीसी लिमिटेड र गभर्मेन्ट अफ इन्डिया इन्टरप्राइजेजले तयार पारेको थियो ।