तारा एयर दुर्घटना : मृतकको शव परीक्षण गरिँदै



काठमाडाैँ । प्रतिकूल मौसमका कारण आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको तारा एयरको जहाजमा मृत्यु भएकाको शव परीक्षण गर्न सुरु गरिएको छ । मृतक २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ ।

तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव परीक्षण गरिँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण भइरहेको छ । अस्पतालका अनुसार अहिलेसम्म १० वटा शव परीक्षण गरिसकिएको छ । शव परीक्षण सकिएपछि एकैपटक मृतकका आफन्तलाई शव हस्तान्तरण गरिने अस्पताल व्यवस्थापनले जनाएको छ ।


आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।