कोइराला पक्षले भन्यो–देउवाले पार्टीभित्र एकलौटी गरे, ‘रचनात्मक विद्रोह’ हुनसक्छ



काठमाडौँ । नेपाली कांग्रेस नेता डा.शेखर कोइराला पक्षका नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने भएका छन् । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले रचनात्मक दबाब दिने निस्कर्ष निकालेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल भएको जानकारी दिए । उनले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महंगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ । बैठकमा रचनात्मक विद्रोहको पनि कुरा भएको छ । हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण छलफल भएको छ ।’


कोइराला पक्षले पार्टी नेतृत्वले सरकारमा व्यस्त भएको देखाएर पार्टी बैठक नगरेको आरोप लगाएको छ । भेलाले महाधिवेशपछिको ६ महिनामा जसरी पार्टी चल्नुपर्थ्यो त्यसरी चल्न नसेको ठहर गरेको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनपछि पार्टीमा समीक्षा हुनुपर्ने भएपनि त्यसतर्फ ध्यान नै नदिइएको कोइराला पक्षको निष्कर्ष छ ।  भण्डारीले पार्टी सभापति देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताए । अन्य पार्टीले मन्त्रिपरिषद्मा हेरफेर गरेपनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्नसमेत नसकेको उनको भनाइ छ ।  बैठक शुक्रबार पुनः बस्ने छ ।