काठमाडौंको फोहाेर व्यवस्थापनका लागि प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको फोहाेरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले फोहर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याए । कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद थापाले भने, “काठमाडौंको फोहाेर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले गरिरहेको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो । कतिपय कुरा दुइटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन । स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु ।”


सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानबमोजिम स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाइ छ । फोहाेरमुक्त काठमाडौं अभियानलाई सफल बनाउन महानगरसँग जोडिएका अन्य नगरपालिका र सम्पूर्ण वडाहरुले सङ्घसंस्थाको साथमा काम अघि बढाउन पनि आग्रह गरे ।