काठमाडाैँमा दुई जनामा हैजा पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडाैँ । काठमाडौँमा दुई जनामा हैजा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा असार २ गते भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हाे । 


ती दुवैमा झाडापखालाको लक्षण देखिएको थियो । हैजाका दुवै बिरामीहरु काठमाडौँ महानगरपालिका बागबजार वडा-२८ मा बसोबास गर्दै आएका एकै परिवारका सदस्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ । हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा वशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन भनेको छ ।