ओलीले कुल्ला गर्दा कार्यकर्ताले बान्ता नगरे योग्यता पुग्दैन : घनश्याम भुसाल



काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीका नेताहरूको भाषाशैलीप्रति कटाक्ष गरेका छन् । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा भुसाले शीर्ष नेताहरूले कार्यकर्ताहरूलाई पनि सोहीअनुसारेको बनाउँदै लगेको बताए ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको ’पत्तासाफ गर्छौं’ भन्नासाथ माओवादीका नेताहरू लाठी लिएर उत्रिने बताए । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधकुमार नेपालले एमालेलाई ’धुलो चटाइदिन्छौँ’ भन्दा कार्यकर्ताहरू अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाउन लागिपर्ने बताए ।


त्यसैगरी एमाले अध्यक्ष ओलीले कुल्ला गर्दा कार्यकर्ताले बान्ता नगर्दा योग्यता पुग्दैन भन्दै कटाक्ष गरे । उनले भने,‘कमरेड ओलीले माधव नेपालको नाम लिँदा कुल्ला गर्नुहुन्छ । कार्यकर्ताले वान्ता गर्छन् । कार्यकर्ताले बान्ता गर्नैपर्छ, त्यति नगरे खाँटी कार्यकर्ताको योग्यता नै पुग्दैन।’ उनले कम्युनिस्टहरूबीच एकता वा सत्यानशमध्ये एक बाटो भएको बताए ।

भुसालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनले नेपालको लोकतान्त्रिक स्थिरताको बाटो समाप्त गरिदिएको पनि बताए । भुसालले राजनीतिमा युवाहरुको वितृष्णा जाग्नुमा प्रमुख राजनीतिक दलका नेता र उनीहरुको कार्यशैली जिम्मेवार रहेको पनि बताए । मूल प्रवाहका राजनीतिक नेताहरु त समाजका गुरु रहेको भूसालको भनाइ छ।

आमजनले राजनीतिक नेताहरुसँग सिक्ने बताउँदै अहिले गलत शिक्षा सिकाइरहेको उनको भनाइ थियो । उनले भने,‘नेताहरु शिक्षक हुन्। समाजका महत्वपूर्ण शिक्षक हुन्। तिनले जे बोल्छन्, समाजले त्यही सिक्छ। ठूला मान्छे जता गए बाटो त्यही हो भनेर हाम्रो परम्पराले पनि भन्छ। आज ती मान्छेहरु, माथि बसेका मान्छेहरुको भाषा, बोली, दिनचर्या दूरदृष्टि हेर्दादखेरि निन्दाको, भर्त्सनाको, गालीको, बेइज्जतीको खुट्टा तानातानको र चरित्र हत्याको तरिका सिकाइरहेका छौं ।’