एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी गरेका छैनौं : नेपाली सेना



काठमाडौँ । नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाले बुधबार साँझ विज्ञप्ति जारी गरी एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रियामा समेत नभएको प्रस्ट पारेको हो ।

विज्ञप्तिमा भनिएको छ, ’नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति र सामरिक संवेदनशीलतालाई प्रतिकूल असर गर्नेगरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोहीसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको बेहोरा सम्पूर्ण जनमानस तथा सञ्चारजगतलाई जानकारी गराइन्छ ।’


नेपालस्थित अमेरिकी दूतावासले नेपालले एसपीपीमा सहभागी हुन दुई पटक निवेदन दिएपछि सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकार गरेको दाबी गरेको छ ।