एकीकृत समाजवादीमा चर्को विवाद, मन्त्रीसहित १० सांसदले बुझाए ८ बुँदे ध्यानाकर्षण पत्र



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का चार मन्त्रीसहित १० जना सांसदले मन्त्री परिवर्तनको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्री परिवर्तन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् । बिहीबार बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मन्त्रीहरुको कदमलाई अन्य ६ जना सांसदले पनि समर्थन गरेका छन् ।


समर्थन गर्नेहरुमा कृष्ठलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी,पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् । उनीहरुले नयाँ मन्त्रीहरुको टिम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्ने माग गरेका छन् । ध्यानाकर्षण पत्रमा पुराना र नयाँको सन्तुलन नमिलाएको, बजेट पारित नहुँदै मन्त्री फेर्न प्रधानमन्त्रीलाई दबाब दिएको लगायतमा विषयमा उनीहरुले आपत्ति जनाएका छन् ।

पत्रमा आगामी आ.व.२०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख छ । मन्त्रीलाई पटक पटक अपराधीलाई जस्तो व्यवहार गएको, स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निश्कर्ष विपरित पटक पटक आजै/भोली नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न नसकिने उल्लेख छ।

‘प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भिर असहमत छौँ।’पत्रमा भनिएको छ, ‘पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाईलाई सहि मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैह सांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिश गरेको , पूराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं।’