हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्षमा कांग्रेसका रोकाया विजयी



हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन् । विजयी रोकायाले तीन हजार ५४३ मत प्राप्त गरेका हुन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का ज्ञामी बुमीले ९९७ मत ल्याए ।

उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार चन्द्र सिंह कार्कीले तीन हजार २८२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जुनकुरा कार्कीले एक हजार ६५ मत ल्याएका हुन्।


एक देखि आठ वडा रहेको सर्केगाड गाउँपालिकाको वडा १ मा बल कार्की र वडा नं ६ मा पदमबहादुर शाही एमालेबाट विजयी भएका छन् । वडा नं ८ मा रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ मा माधनमल छत्याल नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै कांग्रेसबाट वडा नं ७ मा बल खत्री र वडा ५ मा मादलबहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं ३ मा भने स्वतन्त्र उम्मेदवार अकिल कार्की निर्वाचित भएका छन् । उनी कांग्रेसका बागी हुन् ।