सल्यानमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु



सल्यान । सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु भएको छ ।

आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको शारदा नगरपालिका–९ मेलटाकुराका ७१ वर्षीया लति बोहोराको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यस्तै सिद्धकुमाख गाउँपालिका–४ जाताखानीकी ४० वर्षीया तिलसरी पुनको भिरबाट लडेर मृत्यु भएको छ । आफन्तको विवाहमा गएकी पुन घर फर्किने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

पुनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । दुवै शवको जिल्ला अस्पतालमा सल्यानमा स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।