सबै सहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली



काठमाडाैँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गरे । विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उनको भनाइ छ ।


उनले भने, “मजदूरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदूर नै बनाउने सोच पाइन्थ्यो ।” मजदूरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताए ।

विभेद र अत्याचार भएपछि मजदूर एकताबद्ध भएर आन्दोलन सुरु गरेको अध्यक्ष ओलीको भनाई छ । “त्यतिबेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको पाइन्थ्यो” उनले भने, “वर्गीय समाज बनेदेखि नै मजदूरलाई विभेद हुँदै आयो ।”