लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा नेपाल सरकार स्पष्ट रहेको बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन् । प्रम देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी रहेको बताएका हुन् । 


सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा शनिबार देउवाले राष्ट्रिय हितलाई ध्यानमा राखेर नेपालले परराष्ट्र सम्बन्ध अगाडि बढाउने बताएका छन् । ‘नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । नेपाल सरकार राष्ट्रिय हितलाई ध्यानमा राखी सार्वभौम समानतामा परराष्ट्र सम्बन्ध सबै छिमेकीसँग थप प्रगाढ बनाउनेछ । नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा नेपाल सरकार स्पष्ट छ । सीमा सम्बन्धि विषय संवेदनशील हो । वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’