भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता



चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिएकी छन् । उनले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् ।

उनकाे निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार २०० मत अन्तरले अग्रता लिएका छन् । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेका छन् ।

गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा एमालेले वडा नम्बर ३, ११ र १२, नेकपा समाजवादीले ७ र ९ एवं नेकपा माओवादी केन्द्रले वडा नम्बर १३ मा विजय हासिल गरेको छ । हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ ।

गणना जारी वडामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।