नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिरको प्राण प्रतिष्ठा



काठमाडौँ । भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण सम्पन्न गरी आजदेखि पाँच दिने प्राण प्रतिष्ठा सुरु भएको छ ।

राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वर क्षेत्रमा मन्दिरको निर्माण भएको हो । मन्दिरमा आज शुभ साइत पारी प्राण प्रतिष्ठा सुरु गरिएको हो । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । अनुष्ठानमा विभिन्न धार्मिक सन्त, महन्तले प्रवचनसमेत गर्नेछन् । कार्यक्रमको पहिलो दिन आज कलश यात्रासहित पूर्वाङ्ग गरिएको छ ।


घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकोलाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गरेका थिए । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिनुभएको वर्णन विभिन्न वैदिक एवं शास्त्रीय ग्रन्थमा गरिएको छ । ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले ह्यग्रीव रूप धारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गरेकाे विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको लक्ष्मी ह्यग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले जानकारी दिए ।

ह्यग्रीव रूप धारण गरेर भगवान् विष्णुले वेदको उद्धार गरेकाे सन्दर्भ श्रीमद्भागवतको द्वितीयस्कन्ध सात अध्यायको ११ औँ श्लोकमा वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको छ । भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ । ह्यग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकून् भनी वर मागेकाले भगवान् विष्णुले ह्यग्रीव रूप धारण गरेका हुन् ।

भगवान् ह्यग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले ह्यग्रीव अवतार लिएकाे सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदीश प्रपन्नाचार्य बताउछन् ।