धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई १२२९७ मतान्तरले पराजित गर्दै मेयर बनेका हुन् ।

हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहेका वडले १४ हजार १४६ मत पाए । हमाललाई राप्रपा र विवेकशील साझाले समर्थन गरेका थिए भने काँग्रेसका वडलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो । २०७४ को निर्वाचनमा वडसँग हमाल २७९७ मतले पराजित भएका थिए ।


उपमेयरमा गठबन्धनलाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन् ।