तिनाउ खोलामा डुबेर युवकको मृत्यु



रामपुर । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको डुबेर मृत्यु भएको छ ।

आज दिउँसो साथीहरुसँगै घुम्न आएका अली खोलामा पौडी खेल्दै फोटो खिच्दै गर्दा डुबेर बेपत्ता भएका थिए । अली खोलामा बेपत्ता भएपछि साथीहरुले प्रहरी चौकी दोभानमा खबर गरेका थिए । खबर लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अलीको खोजतलास गरेको थियो ।


खोजतलास गर्ने क्रममा प्रहरीले अलीलाई सोही स्थानमा पानीमा डुबेको अवस्थामा उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाएको थियो । अस्पताल पु¥याइएका अलीलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।