केपी ओलीजीले झुटमाथि झुट बोल्नुभयो : काँग्रेस प्रवक्ता महत



काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मतदातालाई अपिल गर्न भन्दै पत्रकार सम्मेलन गरी दिएका अभिव्यक्तिमाथि नेपाली कांग्रेसले आपत्ति जनाउँदै खण्डन गरेको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले ओलीले झुटमाथि झुट बोलेको बताए । आइतबार एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरी काँग्रेसमाथि प्रहार गरेपछि आज काँग्रेस प्रवक्ताले भने, ‘हामी झुटो राजनीति गर्दैनौं । केपी ओलीजीले हिजो झुटमाथि झुट बोल्नुभयो ।’


‘हामीलाई नीति नभएको पार्टी रे । कांग्रेसकै नीतिको ब्याज र साँवासमेत खाने पार्टी एमाले हो,’  उनले भने, ‘ओलीजीले झुटो आरोपका पुलिन्दा लगाउनुभएको छ । झुटमाथि झुट ।’

एमालेले नभएका कुरालाई पनि भएजस्तो गरी प्रचार गरेको आरोप कांग्रेसको छ ।

‘हामी एमालेजस्तो प्रचार गर्दैनौं। हामी यथार्थ धरातलमा राजनीति गर्छौं, झुटो राजनीति गर्दैनौं,’ महतले भने, ‘यही फरक एमाले र ओलीजी र हामीमा छ ।’

ओली सबै कुराले असफल भएर सरकारबाट बाहिरिएको काँग्रेस प्रवक्ता महतको दाबी छ । ‘उहाँले सरकार चलाउन नसकेर दुई दुई पटक हात उठाएपछि काँग्रेसले मुलुक सम्हाल्नुपर्यो । उहाँका पार्टीका दुई घटक आए काँग्रेसलाई मुलुक सम्हालिदिनु पर्यो भनेर आउनुभयो, उहाँले ठूला कुरा गर्ने ?,’ महतको प्रश्न छ । 

‘ओलीजीको पालामा देश ऋणमय भयो,’ उनले भने, ‘ऋण लिएर घ्यू खानेजस्तो भयो । जनताले घ्यू खान पाएनन् सीमित व्यक्तिले घ्यू खाए। ओलीजी प्रधानमन्त्री भइराख्या भए विदेशी ऋणमाथि ऋण लिने काम हुन्थ्यो । श्रीलंकाको बाटोमा जान्थ्यो । हामीले ऋण नलिने र लिए पनि कम ब्याजदरको लिने भनेको छ ।’

ओली सरकारले बिगारेको अर्थतन्त्र वर्तमान सरकारले सुधारिरहेको उनको दाबी छ । ‘अहिले हाम्रो सरकारले अर्थतन्त्र सुधार गरिरहेको छ । हाम्रो सरकार आएपछि अनुदान आएको आयै छ,’ उनी भन्छन्, ‘अमेरिका, भारत चीन, जापानले पनि अनुदान दिराख्नुभएको छ । नेपाली काँग्रेसको सरकार आएपछि अन्तराष्ट्रिय विश्वासको वातावरण बनेको छ । देश ऋणमुक्त हुने बाटोमा छ ।’