काठमाडौँ महानगरपालिका–२६ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी



काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी भएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न मतगणनामा कांग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गरे । नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए ।


वडा सदस्यमा पनि कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट विजयी हुने सदस्यमा बाबुबाजी महर्जन र प्रवेश श्रेष्ठ, महिला सदस्यमा शान्ता महर्जन र दलित महिलामा रुपा नेपाली निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिका वडा नं २६ मा ठमेल, लैनचौर, सामाखुशी, गल्कोपाखा, रानीवारी, टाउन प्लानिङ, नयाँ बसपार्क, म्हैपीलगायतका क्षेत्रहरू पर्दछन् ।