काठमाडौँ । नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने नेपालको संविधानमा उल्लिखित नीति सरकारले अनुसरण नगरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा जारी छलफलमा भाग लिदै सांसद रावलले सो कुरा बताएका हुन् ।
‘‘श्रम र रोजगारसम्बन्धी नीतिमा श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने नेपालको संविधानमा उल्लिखित नीति सरकारले अनुसरण गरेको देखिएन ।,’’ उनले भने ।
त्यस्तै, उनले देशमा विदेशी जनशक्ति भित्र्याउने गलत नीति सरकारले परिवर्तन गर्नुपर्ने बताएका छन् ।
‘‘देशको जनशक्तिलाई निर्यात गर्ने र देशमा विदेशी जनशक्तिलाई भित्र्याउने गलत नीति परिवर्तन गर्न सरकार तयार छ कि छैन ?, श्रम अनुमति नीतिलाई कडाइका साथ लागू गर्न सरकार तत्पर छ कि छैन ? सरकार किन मौन ?,’’ रावलले प्रश्न गरे ।
यसैगरी, छाला जुत्ता उद्योगमा काम गर्ने भारतीयहरुको सङ्ख्या झण्डै ६० प्रतिशत रहेको उनको दाबी छ ।
उनले भने, ‘‘उनीहरुले वार्षिक १५ अर्बभन्दा बढी रुपियाँ नेपालबाट बाहिर लैजाने उद्योग व्यवसायीहरुको भनाइ छ । यो कुरा गठबन्धन सरकारले सुनेको छ कि छैन ?’’
त्यस्तै, उनले नदी जलस्रोतको सदुपयोग गर्ने नीति स्पष्ट हुनुपर्ने सुझाव दिए ।
‘‘नेपालका रणनीतिक महत्वका कोशी, गण्डकी, कर्णाली र महाकाली नदी विदेशीको हातमा जाने गरी विगतमा भएका सन्धिसम्झौतामा भएका गल्ती दोहोरिन नदिई अब उपरान्त नेपालको समग्र दीर्घकालीन हित सुरक्षा र आवश्यकता अनुरुप समग्र नदी जलस्रोतको सदुपयोग गरिने नीति स्पष्ट गरिनुपर्छ ।,’’ सांसद रावलले भने ।