स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न



काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ ।

केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्काे दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो । यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ ।


केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट घटना देखिए पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न पाँच बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार आज ३० भन्दा बढी जिल्लामा ११० घटना भएको छ । उनका अनुसार अझै पूर्ण विवरण आउन भने बाँकी छ ।

प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनःमतदान गरिएको थियो । उहाँले काभ्रे, सप्तरी, सर्लाहीलगायतका केही मनदानस्थलमा मतदान स्थगित भएको जानकारी आएको बताउनुभयो । केही जिल्लामा वर्षासमेतले मतदान प्रभावित बनाएको थियो ।

केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए । हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भएको हो ।

आज बालिग मतदाताले आफ्नाे मताधिकार प्रयोग गरेका छन् । निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताका रूपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्न पाएको दिन हो आज । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो ।

कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने, मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्छ । निर्वाचन आयोगले सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाएको र सबै मतपेटिका सङ्कलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

स्थानीय तहको निर्वाचन पहिलोपटक एकै चरणमा गरिएको हो । नेपालमा संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि विसं २०५४ मा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो ।